|
|
१ चैत, नेपालगञ्ज । रजनीश ओशोले भनेका छन्- मानिसले ‘सेक्स’ को विरोध गर्ने नाममा ‘सेक्स’प्रति नै आशक्ति प्रकट गरिरहेको हुन्छ । मंगलबार नेपालगञ्जमा केपी ओलीको भाषण सुन्दा ओशोको सोही विश्लेषणको सम्झना आयो । ओली लगायतका एमाले नेताहरुले देशमा जात-जातको कुरो गरेर विभाजन ल्याउन हुँदैन भन्दा भन्दै आफैंले जातीय कुरा गरे । एमाले नेताहरुको भाषणमा कुनै सिर्जनात्मकता भन्दा पनि मधेसी नेताहरुको विरोध र निन्दामै केन्दि्रत देखियो ।
केपी ओलीले कसरी गरे जातीय कुरा ? भाषणका क्रममा उनले साम्प्रदायिक कुरो गर्दै यसो भने-
‘केही मान्छेहरु एमालेसँग रिसाउनुको कारण के छ भने मधेसीको कोटा पनि, मुस्लिमको कोटा पनि आफैं खाने, मधेसी भनेर थारु पनि हाल्ने, थारुको कोटा पनि आफैं खाने । एमालेले थारुका निम्ति, मुस्लिमका निम्ति संस्था बनायो, त्यसकारण अरुको पनि भाग खोसेर खान पाइएन भनेर ।’
पहाडे र मधेसीको चर्चा
भाषणका क्रममा एमाले अध्यक्ष ओलीले पहाडे र मधेसीका वीचमा रेखा कोर्नसमेत भ्याए । उनले भने- ‘तराईमा ४० प्रतिशत पहाडियाहरु छन् । त्यसको पनि नाम तथाकथित मधेसी भन्ने दुई चारवटा नेताहरु छन्, उनीहरु नै हुन्छन् ।’
थारु, मधेसी, मुस्लिम र पहाडेको कुरो गरिसकेपछि ओलीले नेपालमा जातीयता र साम्प्रदायिकताको बिऊ रुवाण्डाबाट भित्रिएको भन्दै स्रोत उल्लेख गर्ने प्रयास गरे ।
सभालाई सम्वोधन गर्दै ओलीले भने- ‘कबिला-कबिलाका वीचमा, जातीय झुण्डका वीचमा मारकाट मच्चाएर रुवाण्डाले अब ती कुरा मानेन । संविधानमै यो जातिपातिका कुरा हानीकारक रहेछ भनेर हटायो । रुवाण्डाको जातिवादलाई पोको पारेर यहाँ ल्याएर फिँजाउन खोजिएको छ । रुवाण्डामा असफल भएको विषको पोको यहाँ फिँजाइए पनि त्यसलाई नेपाली जनताले असफल पारेका छन् । हाम्रो पार्टी नेपाली जनतालाई धन्यवाद भन्न चाहन्छ । साम्प्रदायिक विद्वेष चल्न सकेन ।’
जातीय द्वन्द्वमा फसेको देशको चरित्र चित्रण गर्दै ओलीले भने- ‘गञ्जी लगाउने कपडा छैन, कट्टु फाटेको छ, तर एके ४७ र गोली चाहिँ चाहिएजति नयाँ नयाँ आएको छ । त्यसरी जनता लडाए त्यहाँ । चार महिनाका वीचमा १० लाख मान्छे मारिए ।’
‘संसदमा कति छन् श्रीमतीजी ?’
भैरहवाको सभामा एमाले उपाध्यक्ष वामदेव गौतमले मधेसी नेताका आमाहरुको कुरो गरेका थिए । नेपालगञ्जमा चाहिँ एमाले अध्यक्ष ओलीले मधेसी नेताका श्रीमतीहरुका विषयमा टिप्पणी गरे । ओलीले ‘श्रीमतीजी’ हरुका बारेमा यसो भने, ‘सारै भोट आयो भने श्रीमतीलाई पठाउँछन् संसदमा । अहिले तपाईहरुलाई थाहा होला, कतिवटा श्रीमती मन्त्री हुनुहन्छ ? कतिजना श्रीमतीहरु सरकारमा हुनुहुन्छ ? कतिवटा श्रीमतीजीहरु नै संसदमा हुनुहुन्छ ।’
ओलीले प्रष्ट्याए- ‘श्रीमती हुनुहुँदैन भनेको होइन, श्रीमती हुनुपथ्र्यो । तर, पार्टी भनेर बनायो, दुईवटा सीट आए आफू र श्रीमती, एउटामात्रै आए श्रीमती । जनताको भोट घरमा मात्रै । अन्त काहीँ पनि छैन । पार्टी त्यस्तो हुन्छ ?’
‘युपी विहार गइरहेकै छन्’
केपी ओलीले मधेसी नेतालाई यसपी विहार जाउ नभएको त र उनीहरु हप्ता १५ दिनमा आफैं गइरहेको ओलीले बताए । आफूमाथि मोर्चाबाट लागेको आरोपको खण्डन गर्दै ओलीले मञ्चबाट यसो भने, ‘एमाले अध्यक्ष केपी ओलीले हामीलाई युपी जाउ, बिहार जाउ भन्यो भनेर हल्ला फिँजाइरहेका छन् । कहिले भन्यो ? कहाँ भन्यो केपी ओलीले युपी बिहार जाउ भनेर ? भनिएको छैन । तर, उनीहरु कुनै सही कुरा लिएर जनतामा जान सक्दैनन् । यो गर्छौं भन्ने उनीहरुको ठाउँ छैन । र, उनीहरु भन्छन् बिहार जाऊ, युपी जाउ,भन्यो भनेर ।
भन्नै पर्दैन, उनीहरु गइरहेकै छन् । हप्ता पन्ध्र दिनमा कता-कता आउने जाने गरेकै छन्, किन भनिरहनुपर्यो ?’
आँप एमालेकै झरेका हुन्
एमाले अध्यक्ष ओलीले दुईचार वटा आँपहरु झरेको भनेर मधेसका शहीदहरुलाई लक्षित नगरिएको तर्क गरे । उनले यसबारे स्पष्टीकरण दिँदै भने, ‘मैले एकपल्ट पत्रकार सम्मेलनमा भनेको थिएँ, केही मान्छेहरुले नचाहिँदो उलामालामा लागेर नेकपा एमाले परित्याग गरे । पत्रकारले मलाई सोधे- केही मान्छेले तपाईको पार्टी छोडे नि ? मैले त्यसबेला भनेको थिएँ, लटरम्म फलेको आँपको रुखमा दुई चारवटा आँप झरे भने पनि बगैंचा रित्तो हुँदैन । तर, शहीदहरुलाई आँप भन्यो भनेर भ्रम छरियो । हाम्रो पार्टी छाडेर जाने दुईचार जनाको सम्बन्धमा भनेको थिएँ, त्यसलाई हाम्रा शहीदलाई आँप झरेर के भयो र भन्यो, यस्तोखालको कुरा गरियो ।
ओलीले थपे- ‘तपाईहरुलाई थाहा हुनुपर्दछ, एमाले अध्यक्षले कहिले माखा भन्यो भनेर नचाहिने कुरामात्रै र झूठा कुराहरु भनिँदैछ ।’
‘एमालेलाई कालो झण्डा हेर्ने फुर्सद छैन’
अध्यक्ष ओलीले एमालेलाई कालोझण्डा हेर्ने फुर्सद नभएको बताए । मधेसी मोर्चाका कार्यकर्ताले देखाएको कालोझण्डाबारे कटाक्ष गर्दै उनले भने- ‘जहाँ जहाँ एमाले पुग्छ, त्यहाँ एउटा कपडाको टालो झुण्ड्याउँछन् । उनीहरु घरैदेखि त्यो कपडा च्यात्दा पनि हेरिराख्या छन् । भाटामा टाङदा पनि हेरिराखेका छन् । उनीहरुले हेरेका हेर्यै छन् त्यो कालो झण्डा । एमालेलाई काला झण्डा हेर्ने र्फसद छैन । एमाले राता झण्डा लिएर हिँडेको छ । एमाले सूर्य चिन्ह लिएर हिड्या छ । एमाले सूर्य चिन्ह लिएर देशलाई नै उज्यालो पार्न हिँडेको छ ।’
मोर्चालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह
एमाले अध्यक्ष ओलीले मधेसी मोर्चालाई शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गरेका छन् । एमालेलाई जसरी पनि रोक्नुपर्छ भन्ने मानसिकताबाट मोर्चा मुक्त हुनुपर्ने उनको भनाइ थियो ।
पार्टीको मेची-महाकाली अभियान अन्तरगत नेपालगञ्जमा आयोजित सभामा ओलीले भने, ‘मधेसी मोर्चाले केही वर्षभित्र दुई सय मान्छे मरायो र हालै सप्तरीमा पाँचजना मान्छे मरायो । मान्छे मराएर उसले लासमाथि राजनीति गर्न खोजिरहेको छ । यो सिलसिला बन्द गर्नुस । शान्तिपूर्ण बाटोमा आउनुस् । अरुको काँधमा चढेर नहिँड्नुस् ।’
कसैले एमालेलाई जनताको बीचमा जानबाट रोक्न खोजे त्यसलाई चिरेर एमाले अघि बढ्ने अध्यक्ष ओलीले बताए । एमालेलाई मधेसविरोधी, जनजाति विरोधि, महिलाविरोधि र जे जे भेटिन्छ, त्यही त्यही विरोधी पार्टीका रुपमा प्रचारित गर्ने गरिएको भन्दै उनले प्रश्न गरे, ‘जनताको पक्षमा लडिरहेको, देश बनाउन हिँडिरहेको पार्टी कसरी जनताको विरोधी हुन्छ ?’
ओलीले हाल जारी भएको संविधानले कसैलाई पनि भेदभाव नगरेको दाबी गरे । भेदभावको हल्ला चलाएर संविधान मान्न सकिँदैन भनेर हिँडिरहेकाहरु आवश्यक परेका बेला संविधानसभामा एमालेविरुद्ध भोट हाल्न आएको ओलीले प्रशंग कोट्याए ।
‘चाहिएको बेला यही संविधानअनुसार भोट हाल्न आउने अनि फेरि बाहिर गएर संविधान मान्दैनौं भन्दै उपि|mने कुन शैली हो ?’ ओलीले प्रश्न गरे ।
देशलाई अब द्वन्द्व र झगडामा अल्मल्याइरहन नसकिने भन्दै ओलीले संविधान कार्यान्वयन गर्दै राष्ट्र निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए । स्थानीय चुनावमा जनताले एमालेलाई जिताउने आशा गर्दै ओलीले एमालेले नजितेमा देश समस्यामा पर्ने दाबीसमेत गरे ।
कार्यक्रममा बोल्ने एमालेका अन्य नेताहरुले पनि आफ्नो अधिकांश समय मधेसी मोर्चाका नेताहरुको खण्डन र आलोचनामा बिताएका थिए ।
-online khabar
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:
Post a Comment